लक्ष्यले डोर्याएको बाटो

Written by: गुण बहादुर अर्याल

Published On: June 14, 2022

घरको अवस्था ठिकै थियो । खेती किसानीले साँझ विहान खान पुगेकै थियो । तर, युवा अवस्थाका असीमित आवश्यकता पुरा गर्न भने घरको अवस्थाले साथ दिदैनथ्यो । उसैपनि युवा अवस्थामा पैसा नै सबैथोक हो भन्ने लाग्दथ्यो । नेपालमा केही गर्न सकिन्छ भन्ने प्रोत्साहन कतैबाट थिएन । साथीभाईको देखासिकी अनी परिवारको बाध्यात्मक अवस्थाले डोर्याउने बाटो एउटै थियो – वैदेशिक रोजगारी । त्यही सिलसिलामा २०७१ सालमा म वैदेशिक रोजगारीमा कतार गएँ । पैसानै सबैथोक हो भन्ने मेरो सोचाईमा दुई वर्षको कतार बसाइले श्रमको महत्वलाई उजागर गरिदियो । विदेशमा गर्ने श्रम नेपालमै गरे पैसा कमाउन सकिन्छ भन्ने सिकायो । सोही जोस जाँगर बोकेर म २ वर्ष पछि घर फर्किएँ । उत्साह त थियो तर, त्योसँगै नेपालमा अब के गर्ने भन्ने चुनौती यथावत थियो । अन्य व्यवसाय गर्न पुँजी थिएन, आफुसँग भएको कृषिलाई व्यवसायिकरण गर्न सिप थिएन । त्यसै सिलसिलामा २०७४ सालमा इजरायलमा कृषि सम्बन्धी अध्ययन गर्न जाने अवसर मिल्यो ।

१० महिनाको ईजरायल बसाइले मलाई टमाटर खेती प्रती आकर्षित गर्यो । नेपाल फर्केपछि अरूले गरेको टमाटर खेतीको अवलोकन गरेँ । तर, किसानहरूले सन्तोषजनक आम्दानी गरेको देखिएन । त्यसपछि, कृषकले आम्दानी गर्न नसक्नुको कारण केलाउन थालेँ । सरकारले कृषकलाई हेर्ने दृष्टिकोण, लगानी र आम्दानीको अनुपात, सरकारको कृषि नीति, भौगोलिक बनावटका कारण लाग्ने लागत बृद्धी, अस्थिर कृषि बजार, बजारमा बिचौलियाको हस्तक्षेप आदिको बारेमा बुझदै जाँदा नेपालमै कृषि व्यवसाय गर्छु भन्ने जोस र जाँगर मरेर गयो । तर, सबै समस्याको समाधान सरकारको युवामैत्री नीति हो भन्नेमा भने म स्पष्ट भएँ ।

वैदेशिक रोजगारीका कारण नेपालमा रेमिटेन्स भित्रिनु राम्रो हो, तर स्वदेशमै परिश्रम गर्ने मनस्थिति बोकेर फर्किने युवाहरूका लागि रोजगार तथा लगानीको वातावरण नहुनु, वैदेशिक रोजगारीमा ठगिनु र अलपत्र पर्नु आफैमा यसको नकारात्मक प्रभाव हो । युवाहरूले सरोकार राख्ने प्राय मुद्दाहरू सरकार र उसले निर्माण गरेका नीतिसँग जोडिन्छन् भन्ने बुझेपछि म पालिका, वडा र अन्य सरोकारवाला निकायले आयोजना गर्ने छलफल तथा संवादहरूमा सहभागी हुनथालेँ । त्यही क्रममा एकाउन्टविलिटी ल्याब नेपालको बारेमा थाहा पाएँ । म आफै पनि वैदेशिक रोजगारीबाट फर्किएकाले ल्याबसँग काम गर्नपाएहुन्थ्यो भन्ने लागेको थियो । संयोगवस मैले ज्वालामुखी गाउँपालिकामा एकाउन्टविलिटी ल्याबकोलागि काम गर्ने अवसर पाएँ ।

पालिकामा काम गर्दा जनप्रतिनिधिहरू भर्खरै निर्वाचित भएर आएका थिए । वैदेशिक रोजगारीको नाममा ठगी गर्नेको बिगबिगी थियो । गाउँमा वैदेशिक रोजगारीको विषय उठाउँदा मात्रै पनि एजेण्ट हो की भनेर शंका गरिन्थ्यो । असुरक्षित रुपमा वैदेशिक रोजगारीमा जानुहुदैन भनेर तथ्यपरक जानकारी लिएर जाँदा स्थानीयले उल्टै तपाईहरूकै कारणले हाम्रो रोजगारी बन्द भयो भनेर आक्रोस पोख्दथे । विस्तारै समाजमा भिज्दै गएँ । वैदेशिक रोजगारीका कारण समस्यामा परेका व्यक्ति र परिवारका सदस्यहरूको समस्या सुनेर सम्बन्धित निकायसँग जोड्दै गएँ । विदेशमा हराएका व्यक्ति परिवारको सम्पर्कमा आए, सूचनाको कमीका कारण सरकारी सुविधा नपाएका व्यक्तिले राहत स्वरुप पाउनुपर्ने रकम पाए । त्यसले समुदायमा विश्वासको वातावरण तयार भयो ।

जनप्रतिनिधिहरूले वैदेशिक रोजगारीको विषयलाई चाँसोका साथ हेर्नथाले । उनिहरूसँग पनि छलफ हुन थाल्यो । पहिला शंकाको दृष्टिकोणले हेर्ने पालिकाले हरेक वडामा वैदेशिक रोजगार सम्बन्धी विषय हेर्ने फोकल पर्सन छुट्यायो । समुदायमा काम गर्दैगर्दा व्यक्तिगत रुपमा धेरैले चिन्नथाले । आफैलाई पनि वैदेशिक रोजगारीसँग जोडिएर आउने विषयवस्तुप्रति चाँसो बढ्दै गयो । मैले पनि विषयवस्तुको अध्ययन गर्न थालेँ । पालिका भित्र हुने वैदेशिक रोजगार सम्बन्धी तालिमहरूमा आयोजकहरूले प्रशिक्षकको रुपमा बोलाउन थाले । धादिङ जिल्लामा स्थापना भएको आप्रवासी हकहित संरक्षण केन्द्रको सचिवको जिम्मेवारी लिने अवसर प्राप्त भयो । श्रमसँग जोडिएको बागमती प्रदेश स्तरिय कार्यशालामा सहभागी हुने र नेपाल सरकारका श्रम मन्त्री किसान श्रेष्ठलाई प्रत्यक्ष भटेरै सुझाव दिने अवसर पनि जु¥यो । यि सबै अवसरहरूले मलाई विषयवस्तु प्रति अझै बढी जिम्मेवारी बोध गरायो ।

पालिकामा वैदेशिक रोजगारीको विषयलाई प्राथमिकताका साथ हेर्न तथ्यांक आवश्यक थियो । त्यसकालागि वडाहरूले बजेट छुट्याए । कोरोना महामारीका कारण सबै वडामा तथ्यांक संकलन हुन सकेन । तर वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरू पालिकाले आयोजना गर्ने नीति तथा कार्यक्रम सम्बन्धी छलफलमा सहभागी हुनथाले । यसले पालिकालाई अझै गम्भिर त बनायो तर, विषयवस्तु सम्बन्धी सीमित ज्ञान, क्षमताको अभाव र जनप्रतिनिधिहरूको राजनीतिक स्वार्थका कारण धेरै कामहरू सोचे अनुरुप हुन सकेनन् ।

विस्तारै स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल छोटिदै गयो । उनिहरूको प्राथमिकतामा आगामी निर्वाचन लक्षित कार्यक्रमहरू पर्नथाले । उठान गरिएका मुद्दाहरू सेलाउने अवस्थामा पुगे । यसले मलाई नराम्ररी झक्झकायो । वास्तवमै मैले उठाएको विषयलाई गहन रुपमा अगाडी बढाउने हो भने आफै जिम्मेवारीमा पुग्नुपर्ने रहेछ भन्ने लाग्यो । साथीभाईहरूसँग सल्लाह गरेँ । आफुले काम गरेको समुदायले हौसला दियो । आफै स्थानीय तह निर्वाचन, २०७९ मा सदस्यको रुपमा उमेदवार बन्ने निर्णय गरेँ । निर्वाचन केही मतले हारेँ, तर चार वर्ष आफ्नै समुदायको लागि काम गर्दा धेरैको मत जितेको महसुस भयो । यसले “सामाजिक जवाफदेहिता” परिवर्तन चाहनेहरुकालागि उपयुक्त अस्त्र हो भन्ने प्रमाणित गरेको छ । मेरो आगामी उद्देश्य र लक्ष पनि पहिले भन्दा फरक हुने छैन, तर परिस्कृत भने पक्कै हुनेछ – त्ये भनेको सामाजिक न्याय र परिवर्तन केन्द्रित नै हुनेछ ।