८ वर्ष अगाडी टुटेको सपना अहिले पुरा हुँदैछ
Written by: लोकेस मगर
अहिले बाँकेमा मेरो पहलमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूका १३ समुहमा करिब २०० जना जती युवाहरू आवद्ध छन् । जुन समुहमा स्थानीय रोजगारीमा कसरी जोडिने ? सामुहिक उद्यम कसरी गर्ने ? कहाँनेर स्थानीय सरकारको भुमिका खोज्ने ? वैदेशिक रोजगारीसँग सम्बन्धित पीडितलाई कसरी सहयोग गर्ने भनेर छलफल हुन्छ । यस्तै छलफलमा नेपालगञ्ज – २२ का अमृतलाल काँदुले वैदेशिक रोजगारीमा जाने प्रकृयामा एजेण्टबाट ठगिएको बताएका थिए । त्यसपछि हामीले एजेण्टलाई भेटेर कुरा गर्दा अमृतलालले बुझाएको एक लाख पचास हजार रुपैयाँ फिर्ता पाए । त्यसै गरेर, वैदेशिक रोजगारीमा दुबईमा रहेका खजुराकी बेलमतीका सम्पर्क बिहिन श्रीमानलाई परिवारको सम्पर्कमा ल्यायौँ । खजुरामै स्थापति एउटा समुह पालिकाको सहयोगमा कृषि व्यवसाय गरिरहेको छ । त्यसैले पनि होला अहिले वैदेशिक रोजगारीसँग जोडिएका विषयहरू जहाँबाट पनि मसँग ठोकिरेहेका हुन्छन् ।
म आफै पनि ८ वर्ष अगाडी पारिवारिक बाध्यताले विदेशिएको थिए । मेरो परिवार रोल्पाबाट नेपालगञ्ज बसाईसराई गरेर आएको हो । काम गर्नसक्ने उमेरमा बुबाले भारतमा काम गरेर छ जना सन्तान पाल्नुभयो । सम्पतिको नाममा घरबास बाहेक केही थिएन । उमेर पुगेपछि बुबा कमाई गर्न भारत जान सक्नु भएन । अरु आयस्रोत नभएपछि साँझ बिहानको गर्जो टार्न नै गाह्रो भयो । कमाई गर्न सक्ने हुँदा त बुबाले मेरो लागि जसो तसो पढाई खर्चको जोहो गर्नुभएकै थियो । तर, बुबाको रोजगारी सकिएपछि मलै ११ मा पढ्दापढ्दै पढाई छोड्नु पर्ने भयो । घर चलाउन काम खोजे, तर काम पाउन पनि त्यती सजिलो थिएन । धेरै भनसुन पछि एउटा कपडा पसलमा मासिक ४ हजारको जागिर गरे । त्यसले परिवार धान्न सक्ने सम्भावना थिएन । प्राय आफन्तहरू वैदेशिक रोजगारीमा थिए । मलाई भने विदेश जान मन थिएन । परिवारको गर्जो टार्ने अर्को विकल्प मसँग थिएन । विदेश जाने खर्च नहुने कुरै भएन । आफन्तले सहयोग गरे । ८० हजार एजेण्टलाई बुझाएर १९ वर्षको उमेरमा सन् २०१४ मा म वैदेशिक रोजगारीमा दुबई गए ।
दुबई गएको केही समयमै सम्झौतामा भने अनुसार काम नभएको थाहा पाएपछि घर फर्किन खोजे, तर कम्पनीले फर्किन दिएन । त्यसपछि जसोतसो दुई वर्ष दुःख गर्ने निधो गरे । किन भने विदेश जाँदा आफन्तसँग लिएको ऋण मैले नै तिर्नुपर्ने थियो । विदेशको कमाईले ऋण तिर्न ७ महिना लाग्यो । बाँकी कमाई घर खर्च र भाईको पढाईको लागि पठाए । गएको ठिक दुई वर्षपछि विदेश नफर्किने निर्णय गरेर घर फर्किए । तिन महिना घरमा बसे । रोजगारी थिएन । घरको अवस्थामा कुनै परिवर्तन भएको थिएन । समस्या जस्ताको त्यस्तै थियो । फेरी पनि अगाडिको विकल्प वैदेशिक रोजगार नै थियो । यस पटक पहिलेकै कम्पनीमा जाँदा एजेण्टलाई पैसा तिर्नु परेन । विदेशको कमाई भने घर चलाउनै ठिक्क भयो ।
यस पटक भने दुई वर्ष काम गरेर नेपाल फर्किएपछि वैदेशिक रोजगारीमा नफर्किने प्रण नै गरेको थिए । जस्तोसुकै दूःख भए पनि नेपालमै काम गर्दै पढाईलाई नियमितता दिने सोच बनाएको थिए । तर, सोचे जसरी अगाडी बढ्न त्यती सजिलो थिएन । त्यही बिच एकाउण्टविलिटी ल्याब नेपालले नेपालगञ्जमा विदेशबाट फर्किएका युवाहरूसँग काम गर्दैछ भन्ने थाहा पाए । वैदेशिक रोजगारीबाट फर्किएका युवा र स्थानीय सरकार विच हुने छलफलमा सहभागी हुँदै गए । विषयवस्तुको महत्व बुझदै गए । आफ्नै पालिकामा काम गर्नेगरी स्वयम् सेवकको रुपमा छनौट भए । त्यस बापत थोरै भए पनि पारिश्रमिक पाउन थाले । त्यसले मलाई घर चलाउदै काम सिक्ने अवसर जुर्यो । जुन बाध्यताले म वैदेशिक रोजगारीमा गए, त्यस्तै युवाका लागि काम गर्न पाउँदा थप उर्जा मिल्दै गयो । व्यक्तित्व विकास हुँदै गयो । नगरपालिका के हो ? वडा कार्यालय के हो ? बुझन थाले । आफन्तले हेर्ने दृष्टिकोण फेरिन थाल्यो । साथीभाईले र समाजले विश्वास गर्न थाल्यो । मैले गरिरहेको काममा आफ्नो भविश्य देख्नथाले । पहिले सरकारी कार्यालयमा जानै डराउँथे । तर अहिले वैदेशिक रोजगरीका दुःख पाएका युवाहरूलाई स्थानीय सरकारसँग जोडिरहेको छु । उनीहरूलाई स्थानीय स्तरमै अवसर छ भनेर बाटो देखाईरहेको छु । कसैले वैदेशिक रोजगारीकै क्रममा दुःख पाए सक्दो सहयोगको लागि समन्वय गरिरहेको छु ।
एकाउण्टविलिटी ल्याब नेपालसँग जोडिएको करिब ४ वर्ष पछि अहिले परिवारसँगै बसेर वैदेशिक रोजगारीमा भन्दा धेरै कमाउन सकेको छु । समाज बुझ्न पाएको छु । जीविकोपार्जनका सिप सिकेको छु । सबैभन्दा महत्वपूर्ण कुरा ८ वर्ष अगाडी टुटेको सपनालाई अगाडी बढाउन सकेको छु – पढाईलाई निरन्तरता दिएको छु । ११ कक्षा उतिर्ण भएर १२ कक्षाको परीक्षाको तयारी गर्दैछु । सायद स्वदेशमै अवसर छ भन्ने अनुभुत गर्न सके म जस्ता युवाहरू विदेशमा सस्तो श्रम बेच्न बाध्य हुने थिएनन् ।